कुवेतमा थप पाँच जना नेपाली कामदारमा कोरोना संक्रमण देखियो

काठमाडौं, १० बैशाख / कुवेतमा कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसबाट थप पाँच जना नेपाली कामदारहरु संक्रमित भएका छन् ।

कुवेतका स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ कोरोना संक्रमित नेपाली कामदारहरुको संख्या २९ पुगेको छ ।

हालसम्म कुवेतमा कोरोना संक्रमितहरुको संख्या २ हजार २ सय ४८ पुगेको छ, भने ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । यसैबीच, ४ सय ४३ जना निको भइसकेका छन् ।

त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भारत र चीनलाई धन्यवाद

यसैबीच प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गरी आभार व्यक्त गरेका हुन् ।

Loading...
प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १५:११