तीन दिनसम्म बाढी पहिरोको खतरा, सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं ६ साउन / जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसले गर्दा ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले निकालेको छुट्टै बुलेटिनमा आज (सोमबार) इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको र ती जिल्ला भइ बहने नदीहरु मेची, विरिङ्ग, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवनको माडीस्थित रिउ खोलालगायत अन्य साना नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

पुनः मनसुन सक्रिय भएकोले आगामी तीन दिन सम्म मौसम आजकै जस्तो हुने मौसमविद् राजु प्रधानाङ्गले बताए ।

मौसमको न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ । सोमबार बिहान पूर्वी तथा मध्यका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जन सहित वर्षा भइरहेको र पश्चिमि भूभागमा आंशिकदेखि सामान्य वदली केही स्थानमा वर्षा भइरहेको पाइएको छ । संघीय राजधानी काठमाडौंमा पनि बिहानैदेखि बदली भइ छिटपुट वर्षा भइरहेको छ ।

पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पूर्वी र मध्य भागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य वदली रहने जनाएको छ । यस्तै, पूर्व र मध्यका अधिकांश स्थानका साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुने जनाइएको छ । मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना औंल्याइएको छ । सोमबार राति पनि देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार र बुधबार पनि बदली र वर्षाको नै सम्भावना रहेको जनाइएको छ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार ०२:२९