कुवेतमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १७ बैशाख / मंगलबार एकै दिन कुवेतमा २२ जना नेपाली कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन् । नेपाली राजदूतबासका अनुसार पछिल्लो पटक परिक्षण गरिएका मध्येमा २२ जनाको कोराना भाइरस पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै कुवेतमा रहेका नेपालीमा संक्रमण हुनेको संख्या ५१ पुगेको छ । यसअघि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

झण्डै ७० हजार नेपाली कुवेतमा श्रमिकको रुपमा कार्यरत छन्। हालसम्म कुवेतमा जम्मा ३ हजार ४ सय ४० जना कोरोना संक्रमित फेला परेका छन् । जसमा २३ जनाको ज्यान गइसकेको छ । १ हजार ११७ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै  छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको छ । यसैबीच ७ हजार ७ सय ४७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

मंगलबार बिहानसम्म भारतमा काेराेना संक्रमितकाे संख्या २९ हजार ४१५ थियाे भने मृत्यु हुनेकाे संख्या ९ सय ३९ पुगेको छ ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या ३१ लाख ३६ हजार पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख १७ हजार ८१३ पुगेकाे छ ।

Loading...
प्रकाशित मिति १७ बैशाख २०७७, बुधबार ०४:१४