कपिलवस्तुका २ कोरोना संक्रमितलाई बुटवल ल्याइयो

वैशाख / कपिलवस्तुको मायादेवी गाउँपालिका–२, अभिरावका दुई कारोना संक्रमित युवालाई थप उपचारका लागि शुक्रबार बिहानै बुटवल ल्याइएको छ ।

उनीहरुलाई तौलिहवा उद्योग वाणिज्य संघको एम्बुलेन्समा बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा पठाइएको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले बताउनुभयो ।

संक्रमण देखिएका युवा १६ र २२ वर्षे एकै परिवारका हुन् । उनीहरु वैशाख २३ गते राति साढे ११ बजे लुकीचोरी सीमा पार गरी नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई सामान्य ज्वरो र टाउको दुखेपछि यहाँ प्राथमिक उपचार गरिएको थियो ।

२४ गते ६५ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । त्यसमध्ये बिहीबार दुई जनामा कोरोना पोजिटिभ देखिएको थियो ।उनीहरुले सिधै पकडीमा रहेको क्वारेन्टाइनमा आएको भने पनि यसबारे अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

कन्ट्रयाक्ट ट्रेसिङको काम पनि थालिएको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कपिलवस्तु नगरपालिका–८ का २ संक्रमित रहेको भने पनि यी युवा मायादेवी गाउँपालिका–२ का रहेको पुष्टि भएको छ ।

Loading...
प्रकाशित मिति २६ बैशाख २०७७, शुक्रबार ०६:२०