भारतमा अहिलेसम्मकै बढि संक्रमित भेटिए एकदिनमा

काठमाडौं, २९ वैशाख / कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । याे एकै दिन फेला पर्नेमा हालसम्मकै सर्वाधिक संख्या हाे ।

आइतबार भारतमा काेराेना ४ हजार ३५३ नयाँ संक्रमित फेला परेका छन् । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । बिहीबार पनि त्यहाँ ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका थिए ।

यससँगै भारतमा काेराेना संक्रमितकाे संख्या ६७ हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार २१२ पुगेकाे छ ।

आइतबार त्यहाँ काेराेनाका कारण १११ जनाकाे मृत्यु भएकाे छ । शनिबार ११६ जनाकाे ज्यान गएकाे थियाे । पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्या १ सय हाराहारी वा साेभन्दा बढी देखिँदै आएकाे भारतमा दैनिक ३ हजारभन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका थिए । तर आइतबार भने नयाँ संक्रमित ४ हजारमाथि पुगेका छन् ।

यसैबीच भारतमा २० हजार ९६९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४३ हजार ९ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणकाे उपायस्वरूप लकडाउन जारी राखेकाे छ । पछिल्लाे चरणकाे लकडाउन मे १७ (जेठ ४) सम्म पुर्याएको छ ।

Loading...
प्रकाशित मिति २९ बैशाख २०७७, सोमबार ०१:५३