विराटनगर र धनकुटाका ३ जना काेराेना संक्रमित थपिए : कुल सङ्ख्या २९४

काठमाडौं ०४ जेठ / नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

याेसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ९४ भएकाे छ । ३६ जना उपचारपछि निकाे भएका छन् भने दुई जनाकाे ज्यान गएकाे छ ।

– प्रतीकात्मक तस्बिर

त्यस्तै कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन कम्तिमा १० दिन थप्न सिफारिस गरेको छ । गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ ।

समितिको सिफारिसलाई औपचारिकता दिन मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा बस्दैछ ।

राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिनुका साथै संक्रमित दुई जनाको मृत्यु भएपछि सरकारले लकडाउनको अवधि समितिको सिफारिस अनुसार नै थप्ने सम्भावना छ । समितिको आज बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको बताइएको छ ।

Loading...
प्रकाशित मिति ४ जेष्ठ २०७७, आईतवार १३:५६