पहिलोपटक संक्रमित भेटिएपछि धनुकटा सिल

विकाश घिमिरे 

धनकुटा, ५ जेठ । जिल्ला अस्पताल धनकुटामा कार्यरत एक नर्समा कोरोना सङ्क्रमण भेटिएको पुष्टि भएपछि अस्पताल आसपाससहित बजार क्षेत्रलाई सिल गरिएको छ ।

आइतबार राति आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड-१९ कमान्ड फोर्स धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिका –७ को भेटेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र देखि, वसपार्क, वसपार्क देखि जिरो प्वाइन्ट, जिरो प्वाइन्ट देखि परिचय मोड, परिचय मोड देखि यलम्वर चोक, यलम्वर चोक देखि सिनेमा हल, सिनेमा हल देखि याक्चना घाट जाने त्रिवेणी चोक सम्मको क्षेत्रलाई सिल गरिएको हो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार ०३:५६