लकडाउन डायरी कृष्ण आचार्यको ‘वालापन २’…

  • कृष्ण आचार्य

चुइने टपरिमा दाल र भात,चुत्रो र बाबा चुइँकम वालापनको पहिलो भाग सबैले निकै चाख मानेर हेरिदिनु भयो । सबैलाई धन्यवाद । पाठकको निकै धेरै प्रतिक्रिया आयो ।

मेरो पुस्ताले मात्र होइन अहिलेका युवा बर्ग जसले हाम्रो जस्तो विगत भोग्न पाएनन् उनीहरुले समेत लेखलाई निकै रमाइलो मानेर पढे र प्रतिक्रिया दिए । वालापनको यो भाग लेख्न मलाई सबैको प्रतिक्रिया र यो भन्दा पहिलाको भागमा जनाएको प्रतिवद्धताले गर्दा आज फेरी नयाँ भागमा हामी भेट्न पाएका छौं ।

आदरणीय पाठक ज्यू,यो लेखमा मैले विशेष गरि बाग्लुङमा बोलिने भाषालाई लेख मिसाएकोे छु । केहि शब्दहरु त्यस्ता पनि छन जुन केहि पाठकहरुलाई नयाँ र अच्चम लाग्न सक्छ ।

यो असुविधाको प्रति क्षमाप्रार्थी छु । आउनुहोस विषय प्रवेश गरौं, यो लेख लेख्नु भन्दा केहि समय पहिला मेरो मनमा एउटा कुरा खेल्यो,यो हाम्रो पुस्तामा जन्मने युवाहरु सबै भन्दा अभागी पुस्ता हो । हजुरलाई लाग्ला किन ? यो हाम्रो पुस्ताले निकै कठिनाइ र उतारचडाव भोगेको छ ।

माओवादीको दश बर्षे जनयु,द्धमा हामीले भोग्नु दुख भोगियो, विनासकारी महा भुकम्पको झड्का पनि हामीलेनै भोग्न पर्यो,राजतन्त्रको अन्त्य गर्न भएको १९ दिन लामो जनआन्दोलन र अन्त्यमा अहिलेको कोरोना महामारीले २ महिना भन्दा लामो लकडाउन र अनिश्चित भविश्य । अब भन्नुहोस यिनै ठुला ठुला कुराले पनि हामी निकै अभागी भएको प्रष्टै हुन्छ ।

तर सबै भन्दा सम्झन लायक पुस्ता पनि यहि बन्यो । संविधान सभाबाट संविधान जारी गर्न तपाई हामीलेनै भोट दिएको हो । अबस्था नफेरीए पनि ब्यवस्था फेर्ने काम यहि पुस्ताले गरेको छ त्यसैले हामी भाग्यमानी पनि अभागी पनि हो । गज्जव त कोरोना महामारी पछि जन्मलेलाई हुने छ,पक्कै । चुइने टपरीमा मुसुराको दाल र भात करिव एक दशक पहिला सम्म गाँउमा भात खाने कुरा पनि चिज जस्तै हुन्थ्यो ।

अत्यनै धनिले मात्र विहान बेलुकी भात खान्थे,यस्सो हुने खानेहरुले बेलुकी मात्र भात खान्थे भने धेरैले चाडपर्व,विवाह,सराद्धय जस्ता समयमा भात खाने गर्थे । आज भोलिका केटाकेटीलाई यो कुरा गर्दा पक्कै पनि पत्यार लाग्दैन तर असरी कुरा के हो भने अझै पनि नेपालमा यस्ता धेरै ठाँउ छन जहाँ भात खान चाडपर्वनै आउन पर्छ । भात र मुसुराको दाल भने पछि धेरैले आफ्नो बालापन र टपरीको भात नसम्झने कुरै भएन । यो संयोग प्राय विवाहमा मिल्थ्यो ।

पातलो मुसुराको दाल र भात विहेमा जन्त जाँदा खुव खाइयो । त्यो बेला धेरैलाई खुवाउन पुग्ने थाल पनि हुँदैनथे सबैले टपरीको प्रयोग गर्थे । सालको पतका टपरीमा पातलो दाल हाले पछि के हुन्छ होला ? पक्कै पनि भात नसक्दै दाल चुइएर भइभरी हुन्थ्यो । एउटा कुरो नढाटी भन्दा त्यो बेलाको मुसुरालको दाल र भात जस्तो मिठो स्वाद आज सम्म मैले खाएको दालभात बाट पाउन सकेको छैन किन होला ? यसो त त्यो बेला मुसुरो गाँउ गाँउमा पाइदैनथ्यो ।

दाल पनि गाँउकै खाइन्थ्यो । गाँउको दाल खाइरहेका बेला नयाँ स्वादको दाल भएर पनि होला खुव मिठो लाग्थ्यो । आज पनि धेरैले आफ्नो बालापन र चुइने टपरीको भात अवश्य सम्झीनु भएको छ होला । आहा श्र्रप श्र्प…………………………

बाबा चुइकम,रम्वा चाउचाउ हाम्रो बालापनमा सितलगेडी हराइसकेको थियो तर बाबा चुइकमको निकै रोश (चलन) थियो । अहिलेको जस्तो होइन त्यो बेला त १ रुपिँयाको २ पिस चुइकम आँउथ्यो ।

निकै कम समय मात्र दुईटै खान पाइथ्यो,धेरै समय त त्यहि दुईटा पनि एक एक वटा खान पथ्र्यो । सुरुमा रातो ओठ बनाउने त्यो चुइकम फुलाउदा फोको फुटेर ओठभरी लतप्तीने कुरा छोरा भन्दा छोरीलाई धेरै याद छ होला । दिदि बहिनीहरुले धेरै गर्थे यसो त । त्यो समय पाँच रुपैयाको कति महत्व थियो ?

ओहो पाँच रुपैया कसैले टिको लगाएर दियो भने त धेरै दिनेको सूचिमा त्यो ब्यक्ति एक नम्वरमा पर्थो । प्राय त्यो बेला दुई रुपिँया दिन्थे टिको लगाएर । त्यो पनि छोराहरुलाई त मामा घर मात्र हो जन्म घर तिर त दिँदैनन् । बाबा चुइकम सम्झे पछि यससँग अर्को सझनलायक कुरा पनि सँगै आँउछ ।

१ रुपैयाको २ वटा चुइकम किनेर दिन भरि चपाइन्थ्यो अनि भोली के गर्ने त ? खान त पर्यो किन्ने पैसा छैन ? अनि आँउछ आइडिया, त्यो कुइकम खाँदा त्यसको पटपट पड्कीने कागज सुरक्षित राखिन्थ्यो त्यहि कागजमा डल्लो पारेर चुइकम फलियामा राखिन्थो । भोलि पल्ट हल्का चिनी मिसाएर अर्को दिन पनि काम चलाइन्थ्यो । हाम्रो सोच त पर्सिपल्ट पनि खाने हुन्थ्यो तर बा आमाले सातो खाए पनि बाध्य भएर चुइकम फाल्नु पथ्र्यो । रातो सेतो कागजमा आउने रम्वा चाउचाउ त्यो बेला मात्र होइन अहिले पनि उत्तिकै चर्चित छ । भलै त्यो बेलाको जत्रो र मिठो हुँदैन । किसिम मिठो हुन्थ्यो । अहिले त्यो बेलाको स्वाद विश्वको कुनै चाउचाउमा हुन्छ जस्तो मलाई लाग्दैन । सायद मैले नखाएर पनि होला ।

निकै कम मात्र मिल्ने त्यो चाउचाउ खाने मौका अहिले चाही दिनदिनै मिल्छ तर त्यो बेलाको स्वाद कहाँ पाँउनु । रम्वा पछि गोलमाल चाउचाउ पनि धेरैले सम्झनु हुन्छ होला हैन ? चुत्रो र ऐसेलु यो मौषम चुत्रो र ऐसेलु खाने हो । स्कुलबाट आँउदा बाटोको छेउछेउमा पाइने चुत्रोले ओठ र जिब्रो कालो नबनाएका साथीहरु त खासै हुनुहुन्न होला । धेरै चुत्रो खाएर पखला लागेको म मात्र हो कि हजुरहरु पनि ? विभिन्न स्वादमा पाइने चुत्रोको रुखलाई हामीले त नामै दिन्थीम ।

मिठो फल्ने,अमिलो फल्ने र ठिकै फल्ने । ठाँउ र परिस्थितिले गर्दा स्वाद पनि फरक फरक हुने हुँदा खोजी खोजी मिठो चुत्रो खाइथ्यो । आज पनि स्कुलबाट फर्किदा बाटोमा खाएको चुत्रो र बालापनको खुव याद आएको छ । तर अहिले गाँउ गाँउमा पुगेका मोटरे बाटोले न चुत्रो बाँकी राखेको छ न त ऐसेलु ।

आजभोलीका केटाकेटीहरुले हाम्ले जस्तो चाख मानेर त्यस्ता फलफुहरु पनि खाँदैनन् र सबै ठाँउमा पहिलाको जस्तो पाँइदा पनि पाँइदैनन् । तर धेरैलाई समय वित्दै जाँदा विगतको मिठो सम्झनाले यो लकडाउनको बेला आफ्नो गाँउको याद दिलाँउछ । बाँकी

क्रमश…………………………………………………..

वालापन ( भाग १ ) पढ्नुहोस्

नेपालले मात्र होइन विश्वले यो समय निकै कष्टपूर्ण रुपमा कटाइरहेको छ । फुर्सद भए पनि नरमाइलो फुर्सदले कसैलाई पनि खुसी दिएको छैन । सरकारले कोहि पनि बाहिर निस्कन नपाउने गरि लकडाउन गरेको आज दुई हप्ता भन्दा धेरै भइसकेको छ । यो अवधिमा आफ्नो जन्म घर जान पाउनेहरु निकै भाग्यमानी हुन । सायद जीवनमै पहिलो पटक यसरी आफ्नो जन्म गाँउमा मानिसहरुले सबै भन्दा लामो समय विताउन पाएका छन र आफ्नो जिन्दगीको विगतलाई पुर्नताजकी गर्न पाएका छन ।

भुकम्पको बेला भरिएको गाँउ अहिले फेरी भरिभराउ जस्तै छ । यसो त छोरा छोरीले दुखमा सम्झीने भनेकै आफ्नो आमा हो आफ्नो गाँउ हो । सुखमा साथ दिने त साथीभाई छँदैछननी । आपतकै बेला भए पनि आफ्नो आमाको काखमा रहन पाउने सबै भाग्यमानीहरु हुन ।

जेल जस्तै एउटा कोठा भित्र थुनिएको ललितपुर शहरमा भौतिक शरिररहे पनि तनमन भने उडेर त्यहि देउरालीमा पुगेको छ । यो कठिन परिस्थितिमा मात्र गाँउ सम्झने ? यो पश्न सबैको मनमा उठ्यो होला तर कसमै खाएर भन्दा प्राय गाँउको माया र सम्झना सबैलाई आँउछ र मलाई पनि आँउनेनै भयो । सारै अत्यास लागे पनि गुगलअर्थबाट आज त्यो विरानो र रमाइलो देउराली हेरे । फोटोमै भए पनि ती डाँडा पाखा र खोलानालालाई देख्न पाँउदा निकै खुसी भएँ । जव गाँउका तस्विरहरु हेरे,अनि वालापन र विगतलाई गहिरोसँग सम्झीए त्यस पछि मेरा मनका कुरा यहि लेख मार्फत हजुरहरुलाई पनि शेयर गर्न गइरहेको छु ।

चरी हिमालमा,बुट्टा भर्दै छु जाले रुमालमा । यो गीत निकै गाइयो । यहि गीत गाँउदै पुमे हुँदै काभ्रे भिरमा बाख्रा खुव चराइयो । गाँउकै पशुपति बुबाले त मलाई उहाँ वित्नु भन्दा केहि बर्ष पहिला सम्म चरि हिमालमा भन्दै बोलाउनु हुन्थ्यो । उहाँले त्यसो भन्दा कताकता लाज र कताकता निकै खुसी लाग्थ्यो । उहाँ केहि बर्ष पहिला विती सक्नु भयो तर उहाँको सम्झना आज सम्म पनि ताजानै छ । केहि बालपनका त्यस्ता रमाइला क्षणहरु यहाँहरुमाझ साट्न चाहान्छु जुन तपाईहरु धेरैले भोग्नु भएको छ,कतिलाई नपत्याउन पनि सक्नुहुन्छ किन कि अहिले समय फेरीएको छ ।

डोली सावन

हजुरहरुसँग झुट बोल्ने त कुरै भएन । यो डोली सावन भन्ने खासमा लुगा धुने कालो रंगको सावन हो । मैले त यो लुगा धुने सावनले १५ बर्ष सम्म नुहाएको हुम । जुन बेला म १० कक्षामा पढ्थे । लुगा धुने र नुहाउने सबै यहि डोली सावलेनै हो । अहिले यो सावन गाँउमा जाँदैन र आँउन पनि छोडेको छ तर वाल्यकालको सबै धुलो मैलो यहि सावनले फालेको हो । बेला बखत लाहुरेले ल्याएका बसाउने साबनले नुहाउन पाँउदा १ हप्ता सम्म शरीरै बसाए जस्तो हुन्थ्यो । त्यो बेला गरिवी एउटा कारण थियो भने चलन अर्को कारण थियो । कोहि कोहिले बाहेक सबैले यहि डोली सावनले नुहाउथे लगा धुन्थे ।

पायल चप्पल,बेटरीको विर्को र चाइनीज चप्पल

पायल चप्पल भने पछि सबैलाई आफ्नो फुटेका खुट्टा र त्यसमाथी पटपट पड्काउदै हिड्ने पायल चप्पलको निकै सम्झना आँउछ होला । कक्षा ४ देखि (त्यो भन्दा पहिला त खाली खुट्टा हिडिन्थ्यो ) यी चप्पल लगाइन्थ्यो र स्कुल गइन्थ्यो । हाम्रो समयमा नयाँ कक्षाको अध्ययन सुरु तीज पछिबाट हुन्थ्यो । ४ कक्षा देखि १० कक्षा सम्मको कुरा गर्ने हो भने करिव ७ जोली पायल चप्पल पड्काउदै सर्कुवा अध्ययन गर्न गइयो । बर्षको एक जोली चप्पल पाइथ्यो । निकै टाढा स्कुल जाने भएको हुँदा चाँडै फाट्थे चप्पल । यति सम्मकी चप्पलका तुना फुस्कीन थाले पनि एभ्रीडे बेटरीका विर्का चप्पलमा हालेर बाँकी दुई चार महिना गुजारा चलाइन्थ्यो । एक जोर चप्पल एक बर्ष । अहिलेका धेरै पाठकलाई यो कुरा हावा पनि लाग्न सक्छ जुन हाम्रो बास्तविकता हो । पायल चप्पलको रोश छदै गर्दा ५८ साल तीर बजार पिट्यो चाइनिज चप्पलले । एक समय प्राय सबैको खुट्टामा चाइनिज चप्पल परेकै हुन । पायल चप्पलको तुलनामा चाइनिज चप्पल त्यति टिकाउ नभए पनि खुव मार्केट पिटेको थियो । दुइ चार जोर यस्ता चप्पल पनि लगाइयो । आज काठमाण्डौमा बसेर राम्रा राम्रो चप्पल लगाइरहँदा पनि तीनै पायल चप्पल र चाइनिज चप्पलको निकै सम्झना आएको छ । पायल चप्पल अहिले पनि गाँउमा कसैले लगाएको पाइन्छ भने चाइनिज चप्पल त आउन छोडेका छन ।

पहिले पटक जूत्ता,पहिलो पटक क्यालकुलेटर

मैले माथीनै कसम खाएर भनिसकेको छु यो लेखमा भनिएका कुरामा एक रती पनि झुट छैन् । गाँउकै कसम खाएर लेख्न सुरु गरेको हुँदा पनि लेखेका कुरा सबै सत्य हुन भन्ने बुझीदिनु भो भने अझ रमाइलो हुने छ । तपाईहरुले पहिलो पटक जुत्ता कहिले लगाउनु भो कुन्नी ? मैले त पहिले पटक जुत्ता लगाएको २०६१ साल तीर हो । त्यो बर्ष दिदिको विहे हुँदै थियो । दुलहीको भाइ पायल चप्पलमा हुँदा राम्रो नभए पनि बाध्यताले जुत्ता पाइएको थियो । जुत्ता किनेर त ल्याइयो तर लगाउने भनेको दिदीको विहेको दिनमात्र हो । विहे आँउन भन्दा २ चार दिन पहिले जुत्ता किनीयो,मलाइ दिदिको विहे भन्दा जुत्ता लगाउने पिरलो थियो । बाँकी ती रातहरु जुत्ता लगाएकै सपनाले विते । आखिर त्यो दिन आयो,जुत्ता लगाउन पाइयो । कडा खालका पायल चप्पल लगाएका खुट्टाले एक्कासी नरम जुत्ता पाँउदा सगरमाथाकै शिरमा पुगे जस्तो भयो । अच्चमै खुसी लाग्यो । संसारकै सबै भन्दा राम्रो मान्छे मै हुम कि जस्तो पनि भयो ।

एस.एल.सी दिनपर्ने भए पछि मैले पहिलो पटक १० कक्षामा आँउदा क्यालकुलेटर पाएको हो । त्यो बेला कालो क्यासीयो भन्ने कम्पनीको क्यालकुलेटर खुव चलेको थियो । यो किन्ने भने देखि खुसीले निद्रा लाउन छोडेको किनेर ल्याए पछि एक हप्ता जति त खान पनि खाँसै मिठो भएन । गणितका एउटै हिसाव दुई पल्ट पनि गरियो क्याल्कुलेटर हान्न पाइन्छ भनेर । अहिले आफैसँग दुई दुई वटा ल्यापटप छन् कम्प्युटर छ तर त्यो खुसी पाइदैन । यस्ता खुसी केवल वाल्यकालमा मात्र पाइन्छन् ।

यो लेख लेखिरहँदा मैले पृष्ट भुमिमा विष्णु खत्री दाईको नयाँ जमाना भन्ने गीत सुनिरहेको छु र मलाई त्यहि क्यासेट बजाएर रमाएका दिनको याद भइरहेको छ । लाहुरेले छड्के टेप बोकेर घन्काउदै आएको याद आइरहेको छ । लडाईको लाहुँरे भन्ने गीतले त झन पुरै गाँउनै रुवाएको हो । त्यो गीत खुव सुनियो हाम्ले पनि । अहिले त साइली जमाना युउटुवको छ तर खुसी पहिलाको जस्तो पट्क्कै छैन ।

बाल्यकाल र गाँउको सम्झनाले एउटा लेख त के पुरै १० बटा किताव बन्छन् आजलाई यो भन्दा धेरै भयो भने पढ्न पनि दिक्क लाग्ला ।

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार १०:१२