हरियो चुरा र मेहन्दीको विक्री बढ्यो

शान्ता कमली/ साउन महिना सुरु भएसँगै लमजुङको बेसीशहर लगायत जिल्लाका व्यापारीक क्षेत्रहरुमा हरियो चुरा लगाउन आउने महिलाको भिड छ । स–साना बालिका, युवतीहरु, अधबैंसे नारी देखि बृद्धाको नाडीमा यतिबेला काँचका हरिया चुरा सजिएको छ । साउन लागेलगत्तै हिन्दू महिलाहरुमा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाहरुको बजारका साथै मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । पछिल्ला वर्षहरुमा साना बालिका र किशोरीहरुमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ ।

बेसीशहर नगरपालिका – ११ चिती बानियापधेराकी कृष्णमायाँ श्रेष्ठले साउन लागेसँगै दुबै हातमा हरियो चुरा लगाइन् । उनीमात्र होइन बेसीशहर–७ की श्रीमायाँ घिमीरे र सुन्दरबजार ५ की रामदेवी सेढाईले चुरासँगै हातमा मेहन्दी लगाएर सजिएकी छन् । बेंसीशहर बजारको एक चुरा पसलमा भेटीएकी बेसीशहर ३ की विष्णुमायाँ परियारले ‘पहिलेका दिनमा रातो चुरा मात्रै लगाउने गरेको बताइन् । उनले भनीन् अहिले साउन लागेपनि सबै मिलाएर लगाएको छु’ हामी विवाहित महिलाले अनिवार्य लगाउनुपर्छ । यो महिना भरी श्रीमानको भलोको लागि हरियो चुरा लगाउने, ब्रत बस्ने गर्नपर्छ ।’ चुरा लगाउनकै लागि गाउँ तथा शहरका चुरा पसलमा बालिकाको पनि उत्तिकै भीड छ ।

बेंसीशहरको भिमसेनस्थानमा व्युटी पार्लर सञ्चालन गरेकी विशोर श्रेष्ष्ठका अनुसार बालिका देखि बृद्धाले आफ्ना चाहना पूरा हुने भन्दै हरियो चुरा लगाउन आउने गरेका छन् । साउन लागेसंगै आफ्नो पसलमा पनि हरियो चुरा लगाउनेको भीड समेत बढ्न थालेको उनले बताइन् । ‘साउनको महिनामा चुरा विक्री राम्रो हुन्छ । व्युटीपार्लरमा भेटीएकी भेटिएकी कृष्णमायाँले हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताइन् । आफ्नो नाडीको चुरा खेलाउँदै भनिन्, ‘खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ ।’ हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने उनको विश्वास छ ।

कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसीयारी अपनाउने गर्दछन । कहिल्यै हरियो चुरा नलगाउने नारीहरुले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताएका छन् । नारीहरुमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसलेपनि मख्ख छन । बेसीसहरस्थित सवनम फेन्सी एण्ड होससेलका प्रोप्राइटर सवनम मियाले मध्यअसारदेखि नै हरियो चुराको बिक्री बढेको बताइन् ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको संस्कृतिविदहरु बताउँछन ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार १८:०८