सरकारले अर्को सातादेखि विदेशमा अलपत्र नेपाली ल्याउने

काठमाडौं / सरकारले दैनिक ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ। शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अर्को सातापछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको हो।

समिति स्रोतका अनुसार भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।

नेपाल विमानस्थलमा ल्याइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्।

होटलमा होल्ड गरिएकाहरूको स्वास्थ्य परीक्षण हुनेछ। परीक्षणमा कोभिड-१९ नदेखिएपछि उनीहरूलाई गाडीमा राखेर स्थानीय तहसम्म पुर्‍याइने छ।

त्यसपछि उनीहरूल त्यहाँको स्थानीय तहले बनाएको क्वारेन्टिनमा बस्नु पर्नेछ। परराष्ट्र मन्त्रालयले तत्कालै ६ लाख नेपालीलाई स्वदेश ल्याउनु पर्ने देखिएको आँकडा निकालेको छ।

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार १२:२०