घर फर्किन पाउने भएपछि प्रवासका नेपाली उत्साहित

काठमाडौं / सरकारले कोभिड १९ का कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेसँगै युएईमा रहेका नेपालीहरु घर फर्किन उत्साहित भएका छन्।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले पहिलो चरणमा भारतबाहेकका तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो। सरकारको यो  निर्णयसंगै लामो समयदेखि घर फर्किन तयार भएर बसेका नेपालीहरुमा खुसियाली छाएको छ।

कम्पनीमा राजीनामा दिएर कोठामा बसिरहेका झापा बिर्तामोडका मोहन पनेरु सरकारले घर फर्काउने निर्णय गरेको थाहा पाउनसाथ खुसिले गदगद बनेको बताउँछन्। उनी ३ महिनादेखि अबुधाबीको मुसाफामा रहेको क्याम्पमा घर फर्किने बाटो हेर्दै बसेका थिए।

यस्तै कम्पनीको हिसाबकिताब मिलाएर हातमा टिकट काट्नसाथ लकडाउनमा परेर युएईमै फसेका पूर्व राष्ट्रिय खेलाडी महोत्तरीका हरि महतो अब घर फर्किन पाउने आशा पलाएको बताउँछन्। उनी नेपाल प्रहरीको जागिर छोडेर युएई आएको ७ वर्ष पूरा भईसकेको छ। उनले पनि कम्पनीमा राजीनामा दिएर कोठामा बसेको ४ महिना भयो।

६ वर्षदेखि अबुधाबीमा कार्यरत झापाका कृष्ण प्यासी पनि सरकारको घर फर्काउने निर्णयले खुसी बनेका छन्। दिनप्रतिदिन बढिरहेको कोभिड १९ को प्रकोप र कार्यस्थलमा थपिएको चुनौतीका कारण उनी यथाशीघ्र घर फर्किने मनस्थिति बनाउँदै थिए। यहि बेला आएको सरकारी निर्णयले घर फर्किन झन उत्साहित बनाएको उनि बताउँछन्।

यो खबर आजको नागरिक दैैैनिकमा छापिएको छ  ।

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०१:३८