गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित

पोखरा / गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ३७ जनामा कोरोना संक्रमण फेला परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान नयाँ संक्रमितको पुष्टि गरेको हो ।

निर्देशनालयका अनुसार संक्रमितमा सबैभन्दा बढी स्याङ्जामा २२ थपिएका हुन् । यसैगरी पर्वतका १३ र तनहुँ र पूर्वी नवलपरासीका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमितमा ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका सबै पुरुष छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार प्रदेशका मनाङ र मुस्ताङमा कुनै पनि संक्रमण देखिएको छैन । सबैभन्दा बढी स्याङ्जामा ६० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बागलुङमा ४०, पूर्वी नवलपरासीमा ३८, पर्वतमा २२, गोरखामा १५, कास्कीमा ५, तनहुँमा ४, म्याग्दीमा ३ र लमजुङमा एक जना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये ११ जना निको भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

Loading...
प्रकाशित मिति ३० जेष्ठ २०७७, शुक्रबार ०१:३९