विदेशबाट तीन हजार बढीको उद्धार ( कुन देशबाट कति फर्किए हेर्नुहोस् )

काठमाडौँ, ७ असार / कोरोनाको सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो ।

गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १०८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् ।

यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।(रासस)

Loading...
प्रकाशित मिति ७ असार २०७७, आईतवार १५:५५