एकाबिहानै गण्डकी प्रदेशमा थपिए २० जना संक्रमित

काठमाडौं, ८ असार / गण्डकी प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार स्याङ्जामा १२ र नवलपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक एक जना र सात वर्षका बालक तीन जनासमेत छन् ।

यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको छ । नवलपुरको बौदिकाली गाउँपालिकामा ८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु १८ वर्षदेखि ५० वर्ष उमेर समूहका छन् ।

शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

त्यस्तै चारै जना कोरोना संक्रमितहरु निको भएपछि खोटाङ हाल कोरोना संक्रमणमुक्त वनेको छ । कोरोना संक्रमणको पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिकाका चारै जना निको भएपछि जिल्ला कोरोना संक्रमणमुक्त बनेको हो ।

संक्रमण पुष्टि भएलगत्तै अस्पताल भर्ना गरिएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका हिमाल कार्की, भुवन कार्की र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खुम्बराज राईलाई शुक्रबार डिस्चार्ज गरिएको छ ।

डिस्चार्ज भएका उनीहरुलाई घर फर्काउनका लागि व्यवस्थापनको काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो ।

केही समयअघि मात्र भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएका उनीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि गत जेठ २३ गते कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । कामका सिलसिलामा भारतको कानपुर पुगेका कार्कीद्वय गत जेठ ११ गते गाउँ आइपुगेका हुन् ।

यस्तै, राई भारतबाटै जेठ १६ गते गाउँ आइपुगेको नगरपालिकाले जनाएको छ । भारतबाट आएपछि उनीहरु सामाजिक सम्पर्कमा पुग्न नपाएका कारण अन्यलाई जोखिम नभएको नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका युवा यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

Loading...
प्रकाशित मिति ८ असार २०७७, सोमबार ०२:१३