पृथ्वी राजमार्ग ४ दिनदेखि अवरुद्ध,बझाङ आउनेजाने यात्री र बिरामीलाई सास्ती

बझाङ – बझाङलाई अन्य जिल्लाहरूसँग यातायातमा जोड्ने एक मात्र जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । केदारस्युँ गाउँपालिकाको नारुगौडा खण्डमा आएको पहिरोले सडक भत्किँदा यातायात ४ दिन देखि अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि विभिन्‍न ठाउँबाट बझाङ आउने र बाहिरी जिल्ला जानेहरुलाई समस्या भएको छ । जिल्लाकै विभिन्‍न ठाउँबाट बिरामी भई गाडी मार्फत सदरमुकामस्थित अस्पताल आउनेहरुलाई पनि समस्या भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए । यस्तै सिकिस्त बिरामी भएर जिल्ला बाहिर रिफर गरिएका बिरामीहरु पनि समस्यामा परेका छन् ।

यातायात अवरुद्ध हुँदा बाहिरी जिल्लाबाट ल्याइएको दैनिक उपभोग्य सामाग्री सदरमुकाम पुर्‍याउन नसकिएको एक जना व्यापारी चक्र बोहराले बताए । सडक भत्किएपछि दुवैतर्फ यात्रुबाहक र मालबाहक गरी ५० भन्दा बढी गाडी र त्यसमा सवार यात्रुहरु अलपत्र परेको उनले बताए । ‘बाटो नखुल्दा तरकारी फलफूल जस्ता सामानहरु गाडी मै कुहिन थालेका छन्,’उनले भने, ‘प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि चासो लिएको छैन ।’ यस्तै जिल्लाका विभिन्‍न आयोजनाका निर्माण सामाग्री बोकेका ट्रकहरु पनि बाटो मै रोकिएको कारण निर्माणको काम प्रभावित भएको निर्माण व्यवसायी शेरबहादुर बोहोराले बताए ।

मंगलबार राति र बुधबार बिहान भएको भारी वर्षासँगै सडक भत्किन सुरु भएको थियो । सडकको तल्लो भागबाट पहिरो सुरु भएको कारण सडक मर्मतमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । अहिले भत्किएको सडकमा ग्याविन जाली भर्ने काम भइरहेको छ । सडक मर्मतको काम तीव्र गतिमा भएको बताउँदै उनले शनिबार साँझ सम्म सडक खुलानका लागि आफूहरु लागिरहेको बताए ।

जयपृथ्वी राजमार्गको नारुगौडा बर्खा र हिउँद याममा सबै भन्दा बढी सडक अवरुद्ध हुने ठाउँ हो । दलदल माटो सहितको खोला रहेको यस ठाउँमा पक्की पुल निर्माणको लागि एक वर्ष अघि नै ठेक्का भएर काम सुरु भएको भएपनि हालसम्म एउटा पिलरको जग हाल्ने काम मात्रै भएको छ । पुल नबन्दासम्म यो समस्या समाधान नहुने भएकोले छिटो पुल बनाउनका लागि सबै क्षेत्रले दबाब दिन आवश्यक रहेको उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीको भनाइ छ ।

Loading...
प्रकाशित मिति १३ असार २०७७, शनिबार १०:३१