नेपालमा कोरोना संक्रमित १३ हजार नाघ्यो , थप १ को मृत्यु

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ११२ महिला र ३६४ पुरुष रहेका छन् । योसँगै नेपालमा कारोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२१ जना कारोना संक्रमणमुक्त भई घर फर्किएका छन् । जसमा १३ महिला र १०८ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या ३ हजार १३४ पुगेको छ ।

ललितपुरको स्टार अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कोभिड १९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताउनुभयो ।

ति पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीबेरमै मृत्यु भएको बताइएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

Loading...
प्रकाशित मिति १५ असार २०७७, सोमबार १०:५७