राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली बिच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको मंगलबारको बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको छ । पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेको तथा पछिल्लो समय आफैले दिएको अभिव्यक्तिले विवादमा तानिएका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिनुभएको थियो ।

अहिले प्रधानमन्त्री ओली बालुवाटार फर्किसक्नु भएको छ । उहाँ फर्किएपछि बालुवाटारमा नेकपाको स्थायी कमिटीको बैठक जारी छ । शुक्रबार बसेकाे बैठकमा ओली उपस्थित हुनुभएकाे थिएन भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित हुनुभएकाे थियाे ।

 

Loading...
प्रकाशित मिति १६ असार २०७७, मंगलवार ११:३९