जग्गेबाटै बेहुलासहित ५ जना पक्राउ

तनहुँ  / तनहुँमा विवाह मण्डपबाट बेहुलासहित पाँच जना पक्राउ परेका छन् । तनहुँको ब्यास ११ दमौलीमा गत बुधबार भइरहेको विवाह कार्यक्रमबाटै बेहुलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाल विवाह गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

गोरखाको शहिद लखन थापा गाउँपालिका ११ का २३ वर्षीय सन्तोष अर्याल बेहुला बनेर १४ वर्षीया बेहुली लिन ब्यास आइपुगेका थिए । तर, बालविवाह भइरहेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले मण्डपबाटै बेहुलासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुबा, बालिकाका बुबा–आमा र पुरोहित छन्। प्रहरीकाअनुसार उनीहरुका सम्बन्धमा बिहीबार जिल्ला अदालतबाट बिहीबार म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।

मुलुकी अपराध संहिताको दफा १७३ मा बालविवाह स्वतः रद्द हुने र यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

Loading...
प्रकाशित मिति २५ असार २०७७, बिहीबार २२:२३