गुल्मी – गत असार १८ गते राति अविरल बर्षा संगै आएको पहिरोमा परि बेपत्ता भएका मुृसिकोट नगरपालिकाका एक ब्यक्तिको अवस्था अज्ञात हुँदै परिवारजनले उनको काजकिरिया गर्न सुरु गरेका छन् ।
त्यस नगरपालिका वडा नम्वर २ मुसिकोट का ५५ बर्षीय भागिरथ घिमिरे त्यस दिन राति गाउँ नजिकैको पहिरोमा परि बेपत्ता भएका थिए । उनको हालसम्म खोजी भएपनि अवस्था भेटाउन नसकेपछि परिवारजनले माया मारेर मृतक घोषणा गरि काज किरिया सुरु गरेका हुन् ।
बेपत्ता भएको छैटौं दिनदेखि घिमिरेको परिवारजनले काज किरिया सुरु गरेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनु भयो । उहाँका अनुसार असार १८ गतेको पहिरोले त्यस नगरपालिकामा २० घर विस्थापित भएका छन् , भने १ सय ८१ घरधुरी उच्च जोखिमा रहेका छन् ।
सोही रातको बाढि पहिरोमा परि इस्मा गाउँपालिकामा एक बालक एक बालिकासहित २ जनाको ज्यान गएको थियो । ५ जना गम्भीर घाईते भएका थिए । हालसम्म त्यस गाउँपालिकामा १ सय ९३ घरधुरी विस्थापित भएको त्यस गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताउनुभयो ।