म्याग्दी / म्याग्दीमा पहिरोले पुरिएर बेपत्ता भएका मध्ये २० जनाको शव भेटिएको छ ।
बेपत्ता भएका अन्य १३ जनाको खोजी जारी रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिएका छन् । मराङको राम्चेमा पहिरोमा परी घाइते भएका तीन जना घाइतेको हेलिकप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ ।
धौलागिरि गाउँपालिका–६ मराङकी घाईते गर्भपतिलाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पताल पठाइएको छ ।
मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन् । देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रुन्मामा सारिएको हो ।
३० किलोवाट क्षमताको मगरदाङ लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ । गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ ।