म्याग्दी पहिरोमा ज्यान गुमाउनेहरुको सामुहिक अन्त्येष्टि

म्याग्दी / अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन् । प्राकृतिक विपत्तिले तहसनहस भएको मराङमा पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएको शवलाई अन्त्येष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए ।

मराङको पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा दाहसंस्कार गरिएको हो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया गरी आफन्त तथा परिवारलाई बुझाइएको हुँदा उनीहरुको सामूहिक एवं एकल रुपमा दाहसंस्कार भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा अन्त्येष्टि गरिएको थियो ।

यता मालिका–७, विम गाउँमा पनि पहिरोमा ज्यान गुमाएकाको शव फेला परेका ८ जनाको अन्त्येष्टि गर्ने तयारी गरिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
बिहीबार राति आएको पहिरोमा पुरिएकाहरुको शव शनिबार निकालिएको थियो ।

Loading...
प्रकाशित मिति २९ असार २०७७, सोमबार ०४:१३