परिवार नै सखाप पार्ने पहिरो

तनहुँका विभिन्न स्थानमा आइतबार राति पहिरो जाँदा १० जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । व्यास नगरपालिका–९ माझफाँटका दुई घर, ऋसिङ गाउँपालिका–८ पट्याङको एक घर र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाका एक घर गरी चार घर पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति हुन गएको हो ।

अविरल वर्षापछि आइतबार राति माझफाँटका ५० वर्षीय केशवबहादुर थापाको घर पहिरामा पुरिँदा परिवारका तीन सदस्यको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

पहिरामा परी केशवबहादुरकी ४० वर्षीया श्रीमती कमला थापा, २४ वर्षीय छोरा मनोज थापा र २२ वर्षीया छोरी अञ्जना थापाको मृत्यु भएको हो । पहिरामा उनका २० वर्षीय छोरा राजेश थापा बेपत्ता छन् । बेपत्ताको बिहानैदेखि खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । पहिरामा परी घाइते भएका केशव थापाको पोखरामा उपचार भइरहेको छ ।

ऋसिङ गाउँपालिका–८ पल्टयाङ भैसिलिकीका अनबहादुर थापाका दुई घर पहिराले पुर्दा छोराबुहारी र नातिनी गरी ५ जनाको मृत्यु भएको छ । उनकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन् ।

राति साढे १ बजे घरमाथिबाट आएको पहिराले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा थापा, कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको हो ।

अनबहादुर श्रीमती ज्योतिमायासँग छुट्टै अर्को घरमा सुतेका थिए । पहिरामा परी ज्योतिमाया घाइते छिन् । भिमादमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । यस्तै, अर्को घरमा सुतेका अनबहादुरका दुई छोराबुहारी तथा नातिनीको भने पहिरामा परी निधन भएको छ ।

पहिरामा बेपत्ताको उद्धारमा कठिनाइ भएपछि जेसिबी नै प्रयोग गर्ने भनिए पनि बाटामा पहिराका कारण कठिनाइ भएको प्रहरीले जनाएको छ । सो घटनामा प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली सोमबार साँझसम्म उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले बताए ।

यस्तै, जिल्लाको म्याग्दे गाउँपालिकामा पनि पहिराले घर पुर्दा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको छ । राति पौने १ बजे गएको पहिराबाट घाइते भएकी लक्ष्मीलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली लगिएकामा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

उता, माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पहिरामा पुरिएर मृत्यु भएको छ । पहिरामा परेर व्यास नगरपालिका वडा ११, ओढारेका अन्दाजी ४५ वर्षीय पदमबहादुर भुजेल बेपत्ता भएका छन् । पहिरामा परी घाइते भएकी व्यास९ की २६ वर्षीया झनुमाया कुँवरको दमौली अस्पतालमा उपचार भइरहेको छ । (यो खबर आजको राजधानी दैैैैनिकमा छापिएको छ ।)

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ००:३४