अविरल वर्षाले सप्तरीमा ५० घर डुबान

मुलुकमा केहिदिनको अविरल वर्षाले ठूलो धनजनको क्षति गरेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी डुवानमा परेको छ ।

लगातारको बर्षाका कारण खोलामा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्ही टोल सोमबार जलमग्न भएको हो। बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।

पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्‍याएको छ ।

खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए ।

खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ ।

यता वर्षापछि बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

Loading...
प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०२:४३