पोखरामा पहिरोले पुरिएर ३ जनाको मृत्यु

कास्की / माछापुछ्रे गाउँपालिकामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा  शुक्रबार बिहान खसेको पहिरोमा परी ३ जनाको ज्यान गएको हो ।

स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उहाँका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका छन् ।

घरभन्दा २ सय मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुगा माटोले बनेको कच्ची घरको ३ वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिनुभयो । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ । –फाइल तस्बिर 

Loading...
प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार ०३:०८