विद्यालय सञ्चालन कार्यविधि तयार,सबै शिक्षक अनिवार्य विद्यालय पुग्नुपर्ने

  • फाइल तस्बिर 

काठमाडौं / राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ ।

तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक आफू कार्यरत विद्यालयमा हाजिर हुनैपर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तह तथा विद्यालयबाट पनि शिक्षक उपस्थित नहुँदा विद्यालयले गर्नुपर्ने तयारी तथा वैकल्पिक सिकाइ अभियानमा आवश्यक वातावरण सहज हुन नसकेको गुनासो गरिएपछि सबै शिक्षक विद्यालयमा पुग्नैपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

त्यस्तै चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् ।

सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको तयारी थालेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दुई-तीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ । मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन । ”

सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनर्कर्र्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ ।

जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासङ्घले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार ०२:२९