आज थपिए १ सय ५० संक्रमित, ६ सय ९ जना कोरोना जितेर घर फर्किए

काठमाडौं / कोरोना संक्रमणलाई पराजित गरी मंगलबार उल्लेख्य संख्यामा घर फर्कन सफल हुनु भएको छ । आजमात्र्रै ६ सय ९ जनाले कोरोना उपचारमा सफलता प्र्राप्त गरी डिस्चार्ज भएका छन् ।

मुलुकका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराई सफल उपचारपछि आजसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । यो भनेको कुल संक्रमित संख्याको ६९.३ प्रतिशत हो ।

अब मुलुकका विभिन्न आसोलेसन केन्द्रमा ५ हजार ४ सय ७७ जनामात्र कोरोना भाइरसको उपचार गराइरहनु भएको छ ।

कोरोना भाइरस संक्रमित बढ्ने क्रम मंगलबार पनि कायम रह्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारीअनुसार मुलुकका विभिन्न २७ प्रयोगशालामा ३ हजार ९ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा १ सय ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकभरका प्रयोगशालामा पछिल्लो २४ घन्टाभित्रको परीक्षण रिपोर्टसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ ।

केही सातादेखि काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको संख्या मंगलबार फेरि केही थपिएको छ । काठमाडौं उपत्यकामा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसअनुसार त्रिवि शिक्षण अस्प्ताल महाराजगन्जमा गरिएको प्रयोगशाला परीक्षणमा काठमाडौंका ८ जना र पाटन अस्पतालको प्रयोगशाला परीक्षणमा ललितपुरका १ जनामा कोभिड–१९ पोजेटिभ पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण मुलुकमा ४० जनाको मृत्यु भएको छ । मुलुकका ७७ जिल्लामध्ये यतिबेला ७ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । धनकुटा, भोजपुर, पाँचचथर, संखुवासभा, मुस्ताङ, मनाङ, र रसुवामा अब कुनै पनि संक्रमित नभएको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १०:५८