मध्यरातको पहिरोले दोलखामा १५ घर पुरिँदा , २ जना बेपत्ता

काठमाडौं / गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राति पहिरो खस्दा १५ घर पुरिएका छन् । घटनामा दुई जना सम्पर्कविहीन भएका छन् ।

राति पहिरो जान थालेपछि अन्य स्थानीयले भने भागेर ज्यान जोगाएका छन् ।

५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

पहिरोबाट बच्न घरबाट भाग्दै गरेका खत्री र पहिरोले पुरिन लागेको बस निकाल्न गएका खड्का सम्पर्कविहीन भएका हुन । पहिरोले पुरिन लागेको थाहा पाएपछि खड्का बस निकाल्न गएका थिए ।

पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् । १५ घर पुरिएको र ११ घर अति जोखिममा भएकाले स्थानीयले घर छाडेका छन् ।

अहिले पहिरोग्रस्त क्षेत्रमा सुरक्षाकर्मीसहित स्थानीय प्रशासन र गाउँपालिकाको टोली खटिएको छ ।

Loading...
प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०५:३१