लक्षण नभएका बिरामीलाई घर पठाउन स्वस्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ ।

१४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्ने भएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार केन्द्रले कोभिड–१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पिसिआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको हो ।

नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना सङ्क्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

Loading...
प्रकाशित मिति १० भाद्र २०७७, बुधबार १५:१६