कुलमानलाई श्री ३ महाराज भन्दै सांसद महतले भने भारतलाई हैन हामीलाई बेच्नुस् विजुली

काठमाडौँ । प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले जुम्ला जिल्लाको सदरमुकाममा विजुली बन्द भएको भन्दै सुचारु गर्न माग गरेका छन् । संसदको विषेश समय लिएर बोल्दै सांसद महतले २०३७ सालमा २ सय किलोवाटको विजुली उत्पादन भएपनि त्यो अहिले बन्द रहेको भन्दै राष्ट्रिय प्रशारण लाइन जोड्न माग गरेका हुन् ।

विजुलीका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्रीलाई समस्याबारे जानकारी गराउन खोजेपनि उनीहरुले समय नदिएको भन्दै उनले भने,‘हाम्रा श्री ३ महाराज भनेको हो भने, कुलमान घिसिङ, अर्का श्री ३ महाराज उर्जामन्त्री वर्षमान पुन । फोन पनि उठ्दैन, भेट्न पनि पाइदैन । यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? यीनीहरुसँग भेट गर्न कसरी पाइने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने हो ? के विद्युत् प्राधिकरण छैन यो नेपालमा ? के जुम्ला जिल्ला भन्ने नाम छैन नेपालमा ?’

जुम्ला जिल्लामा १ लाख मानिसहरु बस्ने भन्दै उनले विजुली अभावका कारण मोबाइल फोन समेत अवरुद्ध भएको र चाडपर्वहरु नजिक आइसके । सरकारमा रहेका मान्छेहरु प्रगति विवरण सुनाएको तर जुम्ला नदेखेको भन्दै सांसद महतले भने,‘ इण्डियालाई विजुली बेच्छौँ भन्छन्, हामीलाई बेच्नुस् विजुली कृपया । तपाईहरुको बत्ति कति छ हामीलाई बेचिदिनुस् । त्यहाँ पनि नागरिक छन्, त्यहाँ पनि जनता छन्, त्यहाँ पनि मोवाइल छ, त्यहाँ पनि पढ्ने विद्यार्थी छन्, त्यहाँ पनि विरामी छन्, श्री ३ महाराजहरुले जुम्लालाई हेर्नुपर्‍यो ।’

सांसद महतले जुम्लामा डिजेल प्लाण्ट राख्ने तयारी भइरहेको जानकारी पाएको भन्दै कमिसन आउने ठाउँमा मात्रै सेवा विस्तार गर्ने आरोप लाग्ने विद्युत् प्राधिकरणको सेवामाथि नै प्रश्न उठाए ।

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार ०९:१९