बिदाई कार्यक्रममा बोल्दा बोल्दै आँखा रसाएपछि कुलमान घिसिङको बोली रोकियो ( भिडियो हेर्नुहोस् )

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल गएको आइतबार सकिएको छ । घिसिङ २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।

बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले सबै नेपाली नागरिक आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।

भाषणकै क्रममा उहाँले कुनै पनि प्रतिष्ठानमा हुने नेतृत्व परिवर्तनलाई नियमित र स्वाभाविक प्रक्रियामा लिन आग्रह गर्नुभएको छ । उहाँले प्राधिकरणको निरन्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।

२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा कामविहीन अवस्थामा राख्नुभएको थियो । तर पछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुभएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको थियो ।

 

Loading...
प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ११:०३