भोलिदेखि सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन

काठमाडौं / सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो ।

प्रवक्ता ज्ञवालीका अनुसार हवाई तथा सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्नुपर्ने छ । यसरी लामो, मध्यम तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा साविक भाडादरमा ५० प्रतिशतसम्म थप शुल्क व्यवसायीले लिन सक्नेछन् ।

साविकको हवाई भाडादरमा थप भाडाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने जनाइएको छ । सेवा प्रदायकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ । यात्रु चढ्ने र ओर्लने बेलामा अनिवार्य रूपमा सेनिटाइजरको व्यवस्था सेवा प्रदायकले गर्नुपर्ने जनाइएको छ ।

यसैगरी हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेदेखि खुला गरिएको छ । आरोहण तथा पदयात्रामा स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने छ ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमनमा लगाउँदै आएको रोक असोज ३० गते मध्यरातसम्म थप गरेको छ । यसअघि नेपाल–भारत सीमा क्षेत्रका १० वटा नाकाबाट मात्र आवतजावतको अनुमति दिइएकोमा थप दुई नाका खुला गरिएका छन् ।

भारततर्फ इलाम र दार्चुलाका थप दुई नाकाबाट आवतजावत खुला गरिएको जनाइएको छ । यस्तै चीनतर्फ रसुवा नाका खुला गरिएको छ । गोरखापत्र दैनिक बाट 

Loading...
प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०२:५४