कामदारको कार्यस्थलमा मृत्यु भए हकदारले आजिबन तलब पाउने,. (पूरा पढ्नुहोस)

मलेसियामा काम गर्ने विदेशी श्रमिक काम गरेकै बेला कार्य समयमै ज्यान गुमाए मृतकका परिवार वा आफन्तले आजीवन तलब पाउने भएका छन् । श्रमिकको सामाजिक सुरक्षाका लागि भएको यो व्यवस्थाअनुसार ‘ड्युटी आवर’मा श्रमिकले ज्यान गुमाए परिवारजन (आमा, बुवा, श्रीमती र २१ वर्ष नपुगेका छोराछोरी मात्र)ले मासिक तलबको ९० प्रतिशत रकम मासिक आजीवन पाउने भएका हुन् ।

मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गत स्थापना भएको एसओसीएसओले रोजगारदाताले मासिक रूपमा गर्ने योगदानमा आधारमा विदेशी श्रमिकलाई सामाजिक सुरक्षाअन्तर्गत दर्ता गर्ने व्यवस्था गरेको छ । मलेसियाले सन् २०२० जनवरीदेखि यो सम्पूर्ण विदेशी श्रमिकका लागि लागू हुनेगरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । मलेसियाले अगस्ट २०१९ सम्म एक लाख २५ हजार श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भइसकेको जानकारी दिइएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले काम गर्ने क्रममा घाइते र अङ्गभङ्ग भएमा पनि एसओसीएसओले सामाजिक सुरक्षाको व्यवस्था गरेको जानकारी दिनुभयो । कोषमा आबद्ध भएका श्रमिकको हकमा करार अवधिभित्र श्रमिक बिरामी भएमा उसको उपचारबापतको खर्च एसओसीएसओले बेहोर्ने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो । यो सुविधाका लागि रोजगारदाता कम्पनीले विदेशी श्रमिकलाई दिने गरेको मासिक तलबको १.२५ प्रतिशत एसओसीएसओमा जम्मा गर्नुपर्नेछ ।

उहाँका अनुसार दुर्घटनामा परी केही समयका लागि काम गर्न नसक्ने (टेम्पोररी डिजाबेलमेन्ट) भएमा आर्थिक सहायता (टेम्पोररी डिजाबेलमेन्ट बेनिफिट) र आजीवन काम गर्न नसक्ने भएमा आजीवन पर्मानेन्ट डिजाबेलमेन्ट बेनिफिट प्राप्त गर्ने पनि व्यवस्था छ ।

मृतकको दाहसंस्कार मलेसियामै हुनेका हकमा आफन्तले दुई हजार मलेसियन रिङ्गिटसम्म खर्च पाउने र नेपाल ल्याउनु परे छ हजार पाँच सय मलेसियन रिङ्गिटसम्म उद्धार खर्च पाउने व्यवस्था छ । सामाजिक सुरक्षाको यो व्यवस्था कार्यान्वयनको सहजीकरणका लागि एसओसीएसओले समझदारी पत्रमा हस्ताक्षर गर्न नेपाललाई प्रस्ताव गरेको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले मलेसिया आफैँले प्रस्ताव गर्नु नेपाल र नेपाली श्रमिकको हितमा हुने भएकाले राम्रो भएको बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा  छापिएकाे छ ।

Loading...
प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ०३:४२