कालापानी जाने बाटोको ट्र्याक खोल्यो सेनाले

नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो ।

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो । मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताउनुभयो । “भिर फुटाएर ट्र्याक खुलाइएको छ”, उहाँले भन्नुभयो, “सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ ।”

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । चट्टानी भूगोलले केहि ढिलाइ भए पनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताउनुभयो । घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो । रासस

Loading...
प्रकाशित मिति १० आश्विन २०७७, शनिबार १७:३८