९ अर्ब प्रकरण : बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कडा जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गर्नुभएकाे छ । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डा. भट्टराईकाे आरोप गैरजिम्मेवार र निराधार अभिव्यक्ति भएकाे उहाँले बताउनुभयाे ।

‘केही गैरजिम्मेवार तत्वहरू गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु । एउटा निर्णय नभएको, कसैले नलिएको, कार्य आरम्भ नभएको र त्यो हुन्छ-हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीहरू मिलेर यति अर्ब खायो भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओली भन्नुभयाे ।

देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, हर्कत आफूहरूले गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयाे, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति, निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तै गैरजिम्मेवार हुन सक्दैनौं । त्यति अनुत्तरदायी हुन सक्दैनौं । देश र जनतालाई गलत सूचना दिएर भ्रममा पारेर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, हर्कत हामी गर्न सक्दैनौं । हामी सत्य निष्ठा र जिम्मेवार भावका साथ मात्रै अगाडि बढ्न सक्छाैँ ।’

केही दिनअघि एक कार्यक्रममा डा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल {प्रचण्ड} ले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गर्नुभएकाे थियाे ।

Loading...
प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार ०६:२६