आज बडा दशैंको आठौं दिन : महाअष्टमी

काठमाडौँ, ८ कात्तिक / आज महाअष्टमी अर्थात् नवरात्रिको आठौं दिन महागौरीको विधि-विधानअनुसार पुजा-अनुष्ठान गरिँदैछ ।ब डादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आजको दिन दुर्गाको आठौं स्वरुप गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा साना-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको दिन वैद्धिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा(अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि मन्दिरमा विशेष घुँईचो रहन्छ ।

आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाको पूजाअर्चना समेत विधि-विधानअनुसार गरिन्छ ।

शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन पनि छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना-साना लठ्ठी हालेर जनावरको स्वरुपमा बलि दिने गर्दछन् ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७७, शनिबार ०१:००