भद्रगोलका सितेबाको घर र परिवार (भिडियो)

काठ्माण्डौं,भद्रगोलका तिनै चर्चित कलाकारमध्ये एक हुन् ‘सिते बा’ अर्थात मधुसुदन पाठक । ‘ए हो, ठिकै छ नि त!’ भन्ने उनको डायलग अझै पनि धेरैको मुखमा झुण्डिएको पाइन्छ ।

टेलिभिजनको पर्दामा सिधासाधा देखिने, जसले जे भने पनि ‘ए हो, ठिकै छ नि त!’ भनेर खितखित गर्ने यी ‘वृद्ध पात्र’ वास्तविक जीवनमा भने निकै इनर्जेटिक र ह्याण्डसम पनि छन् ।आफूलाई ‘पार्टटाइम कलाकार’ भन्न रुचाउने पाठक एक सफल युवा व्यवसायी हुन् भन्दा फरक पर्दैन ।

२०६० साल उनले एसएलसी उत्तिर्ण गरि सके पछी

उनी अध्ययनका लागि काठमाडौं आए, जहाँ उनका दाइ-दिदी पहिलेदेखि नै बस्थे । त्यसैले उनले यहाँ सेटल हुन त्यस्तो मेहनत गर्नु परेन । तर, दुई वर्षपछि दिदीको बिहे भयो । दाइ राजधानी बाहिर गए, त्यसपछि मात्र हो उनी एक्लै भएको ।

उनी बसेको घरमा घरबेटी नभए पनि उनकै भाषामा दोस्रो दर्जाको घरबेटी (घरबेटीले विश्वास गरेको पात्र) हावी हुँदा उनलाई रिस उठ्थ्यो । स्टोभ बाल्दा पनि आवाज आयो भनेर गाली गर्ने गरेको उनी सम्झिन्छन् । त्यसपछि उनीहरु कोठा खोजेर अन्तै सरे ।

मानिसको जीवनको रफ्तार सधैँ एउटै गतिले अघि बढ्दैन । भनिन्छ, ‘मानिसको जीवन भिरमा अड्किएको एउटा ढुंगाजस्तै हो । एकदिन त्यो ढुङ्गा भिरबाट खस्छ । समयको अन्तरालसँगै खोलामा पुग्छ । खोलामा पनि उसले निकै हण्डर पाउँछ । त्यहाँ बाढी आउँदा कहिले कता ठोकिन्छ कहिले कता । बिस्तारै त्यो ढुंगा स्पात झै मोडिएर चिल्लो अनि आकर्षक लाग्न थाल्छ ।’ हो यस्तै हुन्छ जीवन पनि ।

दाइ-दिदी पढ्दा लागेको ऋणका कारण सधैँ घरबाट पैसा मागिरहन गाह्रो भयो । त्यसपछि उनी आफैँ कमाउने बाटो खोज्न थाले । त्यतिबेला मार्केटिङ गरेको अनुभव उनीसँग छ ।

‘चिया मसला, फेसवास अनि कस्मेटिक सामान बोकेर बजार चाहार्थेँ । एकदमै हिडनुपर्थ्यो । अरु त ठिकै हो, खुट्टा दुखेर नै हैरान हुने । मोजा गन्हाएर अर्को बिजोग । हिँडाइको चापले गर्दा खुट्टा सुनिन्थ्यो । अझ केहीले त कुकुर फुकाएर लाइदिन्थे । उनीहरुमा मानवीयता भन्ने कत्ति पनि नभएको आभास हुन्थ्यो,’ राजधानीमा दु:ख गरेको क्षण सम्झिँदा उनी भावुक हुन्छन् ।

मानिसले चाहेको सबै कुरा पूरा गर्न सक्दैन, तर संयोग कस्तो आइदिन्छ भने कतिपय कुरा नचाहे पनि प्राप्त हुन्छ । यस्तै हो उनका लागि कलाकारिता । उनले कलाकार बनेर चिनिने सपना पहिले देखेका होइनन् ।

पाठकले कलाकारिता क्षेत्रमा आउन खासै संघर्ष गर्नुपरेन । सहकारी लगायतका अन्य संस्थाको प्रगतिको अभियानमा रहँदै गर्दा मिडिया हबका सोम धितालसँग उनको राम्रै चिनजान भएको रहेछ । उनी र धिताल एउटै टोलमा बस्ने रहेछन् । अझ अर्को महत्वपूर्ण कुरा त उनी बस्ने घर नै भद्रगोलका निर्माता एवम् कलाकार सुवास कार्की ‘बेलासे’को थियो ।

मिडिया हबले ‘झ्याईँकुटी झ्याईँ’ भन्ने कार्यक्रमको स्थानमा नयाँ हाँस्य कार्यक्रम ल्याउने तयारी गर्दै थियो । त्यसैमा पाठकले पनि एउटा भूमिका निभाउने सल्लाह भयो । ‘जिग्री (कुमार कट्टेल) र पाँडे (अर्जुन घिमिरे) पनि पहिलाको सिरियल ‘सिस्नोपानी झ्याम्म’ बन्द भएकाले नयाँ काम गर्न चाहिरहेका थिए । यही कुराले हामी सबैलाई एक ठाउँमा ल्यायो,’ पाठकले कलाकारितामा लाग्दैगर्दाका सुरुवाती दिनहरु सम्झिए ।

उनले ‘सितेबा’को पहिचान नबनाउँदै भद्रगोलको टिमसँग उनी पनि इटहरीको एक कार्यक्रममा गए । त्यसअघि उनले भद्रगोलको नवौं भागमा धतुरेको भाञ्जाको रुपमा पहिलो पटक क्यामेरा फेस गरेका थिए । इटहरीको कार्यक्रम सकिएपछि अठारौं भागमा उनलाई प्रवेश गराउने कुरा भयो । उनीहरुले एउटा बिन्दास क्यारेक्टर खोजिरहेका रहेछन् । जहिले पनि रमाइलो गर्नुपर्ने, चाहे दु:ख होस् या सुख । ‘त्यसमा मलाई लिने कुरा भयो,’ पाठक भन्छन् ।

उनी मेरो एफएममा कार्यक्रम चलाउँथे । त्यसबेला उनलाई धुर्मुस-सुन्तलीका साथै डिजराज पौडेल, दिलिप रायमाझीसँग कार्यक्रमका लागि थाइल्याण्ड जाने मौका मिल्यो । सो कार्यक्रममा उद्घोषण उनले गरेका थिए । धुर्मुस लगायतका टिमसँग उनी त्यहाँ करिब पन्ध्र दिन बसे । आयोजक टिमकै केदार नामका एक सदस्य जहिले पनि पनि बिन्दासमा हुन्थे । दस बज्दा पनि नउठेपछि केदार दाइ उठ्ने होइन भनेर बोलाउँदा ‘हुँदैन, हुँदैन, उठ्नै हुँदैन’ भन्थे । अझै कर गरेपछि उनी ‘अहिले नै पो उठ्नु पर्ने, ए हो ठीकै छ नि त!’ भन्थे ।

‘मैले त्यसैलाई केही मोडिफाइ गरेर हाँसोसहित सितेबा भन्ने क्यारेक्टर बनाएँ,’ उनी सम्झिन्छन् । केदारको आवाजको नक्कल भने खासखुसमा विल्सन बिक्रम राईले नक्कल गरेका रहेछन् ।

उनी भन्छन्, ‘खितिति त जो पनि हाँस्छ, कुम हल्लाएर हाँस्न सुरु-सुरुमा गाह्रो हुन्थ्यो । कुनै पनि कुरालाई लामो बनाएर प्रस्तुत गर्दा मानिसहरुमा अर्के प्रभाव पार्न सकिने रहेछ ।’

बाटोमा हिँड्दै गर्दा कहिलेकाहीँ उनी बालबच्चाले ‘ए हो, ठिकै छ नि त !’ भन्दै खेलेको देख्छन्/सुन्छन् । ‘यस्तो देख्दा निकै खुसी लाग्छ,’

Loading...
प्रकाशित मिति २५ श्रावण २०७६, शनिबार १३:२४