अन्जु पन्त फाउन्डेसनद्वारा दलित विद्यार्थीलाई झाेला र पाेसाक वितरण

काठमाडाैं २६ साउन / अन्जु पन्त फाउन्डेसनद्वारा पर्सा जिल्लाको सखुवा पर्सौनी गाँउपालिका महुवनमा रहेको दलित प्राथमिक विद्यालयमा झोला र पोसाक वितरण कार्य सम्पन्न गरिएको छ।

फाउन्डेसनले शुक्रबार विद्यालयमा अध्ययनरत २ सय बालबालिकालाई २ लाख ३० हजार बराबरको झोला र पोसाक वितरण गरेको हो।

दलित समुदायको बाक्लो बस्ती रहेको उक्त गाउँपालिकाको दलित विद्यालयमा हाल २ सय १० विद्यार्थी सङ्ख्या अध्यनरत छ। त्यस मध्य नियमित रूपमा विद्यालयमा आउनेकाे संख्या भएकाले त्यति नै सङ्ख्यामा झाेला र पाेसाक वितरण गरिएको फाउन्डेसनका कोषाध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए।

विशेष गरेर विद्यालय भर्ना हुने र छाड्नेको सङ्ख्या बढ्दै गएको अवस्थामा यस प्रकारका सहयोगले स्कुलप्रतिको आकर्षण बढ्ने फाउन्डेसनको अपेक्षा रहेको कोषाध्यक्ष घिमिरेले बताए।

घिमिरेले  भने ‘हामीले केही समय अघिबाट नै विद्यालयमा सामग्री वितरणकाे याेजना बनाएका थियाै‌ं तर विभिन्न परिस्थितिले केही महिना पर धकेलियाे। हामीले यस वस्तिका बालबालिकाहरुकाे शिक्षा प्रतिकाे आकर्षण र यहाँका अविभावकहरुमा विद्यालय प्रति सकारात्मक साेचकाे विकाश हुन सकाेस् भन्ने उद्देश्यका साथ याे कार्य सम्पन्न गरेका छाैं। र, यहाँका  शिक्षक, अविभावकहरुमा जुन प्रकारकाे उत्साह देखिएकाे छ यसले नयाँ पुस्तामा शिक्षा प्रतिकाे धारणामा परिवर्तन आउनेमा हामी विश्वस्त छाैं।’

बालबालिकालाई विद्यालय जानका लागि ऊर्जा दिनका साथै विपन्नताका कारण खड्किएको समस्याको सानो अंश भए पनि पूरा गर्ने उद्देश्यका साथ उक्त सामग्री वितरण गरिएको गायिका पन्तले बताइन्।

Loading...
प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार १७:०३