१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो । सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ ।

खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले करिब १ लाखको संख्यामा म्यादी प्रहरीको भर्ना आह्वानको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ ।

‘९९ हजारमा केही संख्या बढ्ने गरी म्यादी प्रहरीको भर्ना खुलाउने गरी तयारी भएको छ । फागुन १५ देखि २० सम्ममा सबै प्राविधिक विषयमा टुंगो लगाएपछि भर्ना आह्वान गर्ने तयारी हो,’ प्रहरी प्रवक्ता कुँवरले राजधानीसँग भने । उनले निर्वाचनको दुई महिनाअघिसम्म भर्ना आह्वान गर्दा पनि तालिम दिएर उनीहरूलाई निर्वाचनका लागि तयार गर्न सकिने विगतको अनुभवसमेत रहेको बताए ।

हरीले विगतका निर्वाचनमा म्यादीका लागि भर्ना आह्वान गर्दा भुतपूर्व सेना, भूतपूर्व प्रहरी, सुरक्षा गार्डसहित अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखेको थियो । यस्तै साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्तिलाई अघिल्लो निर्वाचनमा म्यादी प्रहरी बन्न योग्य मानिएको थियो ।

प्रहरी प्रवक्ता कुँवरले म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताए । विगतको निर्वाचनमा भने म्यादी प्रहरीलाई एक जना बराबर मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब निर्धारण गरिएको थियो । यसैगरी म्यादी प्रहरीलाई तलबबाहेक पोसाक र प्रहरी जवानकै बराबर रासन भत्तासमेत प्रदान गरिएको थियो । प्रहरीले म्यादीमा भर्ना आह्वान गर्दा उनीहरूको कार्यावधि तोक्ने गरेको छ ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको थियो । समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसहित ३७ जना छन् । सोही समितिलाई नै प्रहरी प्रधान कार्यालयले निर्वाचनसम्बन्धी सबै काम गर्ने अधिकार दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

अन्य समाचार

उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ ।

नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको क्षेत्रलाई पर्यटन प्रवद्र्धन र विकास गर्ने लक्ष्यसाथ व्यावसायिक प्याराग्लाइडिङ थाल्ने योजना रहेको थियो ।

नगरपालिकाको पहलमा अहिले मैनामैनीको बोपताङडाँडा र चम्पाकोट डाँडाबाट व्यावसायिक रुपमा उडान गर्ने योजना अन्तिमचरणमा पुगेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

प्रमुख थापाका अनुसार अब चैतको अन्तिमसम्ममा मैनामैनीको बोपताङ र चम्पाकोट डाँडाबाट नियमित व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गरेर सप्तकोशी किनारसम्म झर्न र पर्यटकलाई मनोरञ्जन दिनको लागि उडान कार्य तयारी हुन लागेको हो ।

यस अघिनै बेलकाको चैनामैनीस्थित चम्पाकोट र बोपताङ डाँडाबाट पटकपटक सो सम्बन्धी उडानको परीक्षण सफल भइसकेको बेलका नगरपालिकाले बताएको छ । बेलकाका पचास भन्दा बढी युवाले प्याराग्लाइडिङ सञ्चालन र उडानको तालीमसमेत लिएका छन् ।

प्याराग्लाइडिङ सञ्चालन र व्यावस्थापन गर्नको लागि नगरपालिकाको पहलमा सुनसरीको धरान, बेलका नगरपालिका र कास्की पोखराका केही उद्यमीहरुले रु तीन करोडसम्मको आर्थिक लगानी गरिसकेकोले व्यवस्थापन कार्य अन्तिमचरणमा पुगेको नगरपालिकाले बताएको छ ।

अहिले सप्तकोशी क्षेत्र भ्रमण गर्न, सुनसरीको बराह क्षेत्र र मैनामैनी भ्रमण गर्न प्र्रतिमहिना पाँच हजार भन्दा बढी पर्यटक आउन थालेको र कोभिड–१९ को सुधारसँगै पर्यटकको सङ्ख्या बढ्दै जान थालेको बताइएको छ ।

मैनामैनी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन भएपछि बेलकाको ऐतिहासिक, पर्यटकीयस्थल मैनामैनी क्षेत्र र रामपुर ठोक्सिला बजार तथा सप्तकोशी क्षेत्रमा पर्यटकको आगमन बढेर स्थानीय क्षेत्रमा पर्यटन विकासमा टेवा पुग्ने थापा बताउनुहुन्छ ।

प्याराग्लाइडिङ सञ्चालनको लागि पोखराका प्राविधिक र यस क्षेत्रका अन्य व्यवसायीले योजना अगाडि बढाएको व्यवसायी सुरेश राईले बताउनुभयो । पोखरा, बेलका र सुनसरीका व्यवसायीले आर्थिक लगानीसहित तयारी गरेको संलग्न व्यवसायी कृष्ण कार्कीले बताउनुभयो ।(रासस)

Loading...
प्रकाशित मिति ६ माघ २०७७, मंगलवार ०२:२४