छोरीको घरबार जोगाउँन खोज्दा सावित्रीको घाँटी रेटियो

असार १८ काठमाडौं  – ईश्वरी भट्टराईले सात वर्षअघि अन्तरजातीय विवाह गरिन् । आमा सावित्रीलाई आफूसँगै भक्तपुर चाँगुनारायणको बाँसबारीस्थित घर ल्याइन् । आमा त्यतिखेर घरमा सौता भित्रिएकाले अलग्गै बस्दै आएकी थिइन् । ईश्वरीले घर पनि बनाइन् । छोरा पनि भए । छोरालाई हजुरआमाको साथ राखेर उनी काममा बाहिर जान पाउने भइन् ।यही आइतबार बिहान ११ बजे भने चिताउँदै नचिताएको घटना भयो । ६० वर्षीया सावित्रीको घाँटी रेटेर कसैले हत्या गरेर भागेको देख्ने कोही भएन । किनभने उनले चार वर्षीय नातिलाई स्कुल पुर्‍याएर आएकी थिइन् । घरमा भएकी छोरी ईश्वरी पनि बाहिर हिँडिसकेकी थिइन् ।

एकले मुख थुने , दोस्रोले टाउँको र हात समाए अनि तेस्रोले घाँटी रेटे

घटनाको १० घण्टा बित्न नपाउँदै प्रहरीले तिनै छोरीलाई पक्राउ गर्‍यो जतिखेर छोरी रुवाबासीमा सामेल थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेषटोलीले ईश्वरीसहित दुई भारतीय र एक नेपालीलाई विभिन्न ठाउँमा पक्राउ गर्‍यो । उनीहरूले जे बयान दिए त्यसले सामान्यतया कल्पना गर्न नसकिने अपराध कथाको छनक दियो ।८ कक्षामात्र पढेकी ईश्वरी बिहेपछि सिलाइकटाइ र गार्मेन्टमा काम गर्थिन् । म्युजिक भिडियो र फिल्म निर्माण क्षेत्रमा काम गर्ने उनका श्रीमान् सिनामंगल क्षेत्रमा होटल चलाउँथे । एक वर्षअघि भक्तपुरको कमल विनायकस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दा सिरहा विष्णुपुर घर भई भक्तपुरको पुरानो थिमि बस्ने २३ वर्षीय अविवाहित मोहम्मद नौसादसँग ईश्वरीको चिनजान भयो ।

चिनजान समयान्तरमा विवाहेतर सम्बन्धमा बदलियो । श्रीमान् घर नभएको मौका छोपेर नौसाद ईश्वरीलाई भेट्न घरमै आउँथे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नौसादको बारम्बार आउजाउका कारण आमालाई छोरीको घरबार बिग्रने चिन्ता थियो । कान्तिपुर दैनिकमा जनकराज सापकोटाले समाचार लेखेका छन्।

Loading...
प्रकाशित मिति १७ असार २०७६, मंगलवार ०६:२४