अग्नि पीडित पाँच महिने शिशुलाई आर्थिक सहयोग…

खोटाङ / अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुले अग्नि पीडित शिशुका लागि आर्थिक सहयोग गरेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका असारमान राईको पाँच महिने छोरा प्रविन राईको उपचार, उचित शिक्षादिक्षा र पालनपोषणका लागि आर्थिक सहयोग गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढे घरभई हाल अमेरिका बस्दै आएका मिङ्मा शेर्पाको पहलमा ३० जनाबाट संकलित एक लाख १८ हजार चार सय ५० रुपैयाँ सहयोग प्राप्त भएको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सञ्जय कुमार राईले जानकारी दिए ।

शेर्पा संघ अमेरिकाका उपाध्यक्ष समेत रहेका शेर्पाले यायोक्खा उपाध्यक्ष राईको अनुरोधमा अमेरिकामा वसोवास गर्ने नेपालीहरुसंग संकलन अभियान चलाएका थिए ।

१० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न गएको बेला प्रविन अगेनामा परेर गम्भिर घाईते भएका थिए । आगोले जलेको शिशुको कान्ति वाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भइरहेको छ ।

घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए ।

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०८:३४