कृष्ण जन्माष्टमीका दिन भोली सार्वजनिक विदा

अजय कुमार झा, जनकपुरधाम, भदौ ५ ।

प्रदेश नंं २ मा कृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा दिइने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्मष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा दिने जानकारी दिनु भएको छ ।

यस पटकको कृष्ण जन्माष्टमी भदौ ६ गते भोली शुक्रबारका दिन परेको छ । यो दिन प्रदेश २ भरि नै सार्वजनिक विदा रहने प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनु भयो ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार धार्मिक संघ संस्थाले ज्ञापन पत्र बुझाएपछि मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा यो पर्वको विदा उल्लेख गरिसकेको जानकारी दिनु भएको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले धर्म संस्कृतिको सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सर्वधर्म सम–भावको नीति अवलम्बन गर्दै प्रदेश सरकार काम गरिरहेको बताउनु भयो ।

मुख्यमन्त्री राउतले कृष्ण जन्माष्टमी जस्तो महान पर्वमा संघीय सरकारले समेत विदा दिनुपर्ने बताउँदै यसका लागि आफूले पहल गर्ने बताउनु भयो ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार ०८:५६