आमाको निधनपछि , ५ नावालक छोराछोरीको विचल्ली

कैलाली,५ भदौ / घोडाघोडी नगरपालिका वडा नं. १ घोडाघोडीमा सर्पको टोकाइबाट एक महिलाको निधन भएको छ । विहिवार विहान कच्ची भान्सामा खाना पकाउदै गरेकी ३२ वर्षिया रानीपुरा न्यौपानेको कुनामा राखेको खुर्सानी झिक्ने क्रममा हातमा सर्पले टोकेपछि समयमै उपचार नपाउदा निधन भएको हो ।

५ नावालक छोराछोरी वाहेक घरमा पाको मान्छे नभएको उनी छिमेकीलाई समेत खवर नगरी आफै सुखड बजार मेडिकलमा दौडिदै पुगेको र मेडिकलवाट सर्पले टोकेको धनगढी जान सल्लाह दिए पछि मात्र उनलाई गौरिगंगा नगरपालिका बडैपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो । केन्द्रले धनगढी सेती अंचल अस्पताल रिफर गरेपनि अन्तिम अवस्थामा रहेकोले उपचार हुन नसकी निधन भएको छ ।

एक कट्ठा ऐलानी जग्गामा बस्दै आएको उनको परिवारमा श्रीमान शंकर न्यौपाने रोजगारीका लागि भारत गएको ४ दिन मात्र भएको छिमेकी धनलक्ष्मी शाहिले बताउनु भयो । कलिलै उमेरमा विबाह गरेकी उनको १० ,८,५ र ४ वर्षका ४ छोरी छन् भने ७ महिनाका एक छोरा रहेका छन् । उनको निधन संगै ५ नावालाक छोराछोरीको विचल्ली भएको छ । नावालक छोराछोरीको संरक्षण ,लालनपालनका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाले सहयोग गर्नुपर्ने छिमेकी शाहीले वताउनु भयो ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार १६:४२