लामिछानेसहित तीन जनाविरूद्ध अदालतमा मुद्दा दर्ता, पाँच वर्ष कैद र पचास हजार जरिवाना हुन सक्ने

काठमाडौ जिल्ला सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ।

प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो।

यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनी दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका उनीहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो।

उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो।

अब अदालतले उनीहरूको थुनछेक बयान लिनेछ। बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ।

बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ।

आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई पक्राउ गरेको हो।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्या प्रकरणमा बाहिरिएको भिडिओपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

केही समय अघिसम्म पुडासैनी ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको टिममा थिए।

प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय हुन्छ।

Loading...
प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार १०:१४