रवि लामिछानेको बयान सकिएन, तीनै जना पुनः प्रहरी हिरासतमा

चितवन / पत्रकार शालिकराम पुडासैनी प्रकरणका प्रतिवादीहरु रवि लामिछानेसहित ३ जना पुनः प्रहरी हिरासतमै फर्काइएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले रविसहित अस्मिता भनिने रुकु कार्की र युवराज कँडेलविरुद्ध आइतबार जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेपनि बयान  नसकिएका कारण तीनै जनालाई पुनः प्रहरी हिरासतमै फर्काइको हो ।

रविसहित कार्की र कँडेल अब अदालतले आदेश जारी नगरेसम्म  प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेपछि आइतबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशमा प्रतिवादीहरुको बयान शुरु भएको थियो ।

आइतबार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ । बाँकी २ प्रतिवादीहरु युवराज कँडेल र रवि लामिछानेको भने बयान बाँकी रहेको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

अब युवराज कँडेल र रवि लामिछानेको बयान सकिएपछि अदालतमा थुनछेक बहस शुरु हुने छ ।

थुनछेक बहस सकिएपछि मात्रै अदालतले प्रतिवादीहरुलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने आदेश जारी गर्ने छ ।

अदालतले आदेश जारी नगर्दासम्म तीनै जना प्रहरीको हिरासतमै रहनेछन् ।

Loading...
प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार ११:५९