खोटाङ टुडे / खोटाङका एक जनप्रतिनिधिले राज्यबाट आफूले पाएको तलबभत्ता बापतको रकम सामाजिक सङ्घ/संस्थालाई प्रदान गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्ता बापतको रकम सामाजिक सङ्घ÷संस्थालाई प्रदान गरेका हुन् ।
वडाध्यक्ष चौहानले आफूले पाएको १ लाख २० हजारमा १ लाख १० हजार थपेर सामाजिक सङ्घ/संस्थालाई प्रदान गरेका हुन् ।
वडामा गठन भएको १३ वटा आमा समूहलाई १०/१० हजारका दरले १ लाख ३० हजार, उत्कृष्ट टोल विकास समितिलाई १० हजार, नेवाँ पुँच खललाई ५० हजार, वडाध्यक्ष चौहानले अभिभावकत्व ग्रहण गरेको छात्र निरकुमार खत्रीलाई १० हजार र धामीलाई ३ हजार प्रदान गरेको वडा सचिव चिरञ्जीवि आचार्यले बताए ।
आमा समूहलाई प्रदान गरिएको रकम घुम्ती कोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिना ब्याज चलाउन दिनेगरि प्रदान गरिएको हो ।
बाँकी रहेको १७ हजार रकम लोपोन्मुख अवस्थामा पुगेको सँगिनी नृत्य टोलीका लागि साडी खरिद गर्न सहयोग गरेको जनाइएको छ ।