दशैंमा खसीको मासु प्रतिकेजी रू १५०० पुग्ने

काठमाडौं । सरकारले औपचारिक घोषणा विनै खसीबोका आयातमा कडाइ गरेपछि दशैंमा मासु महँगो हुने भएको छ । वसायीहरूका अनुसार दशैंमा खसीको तयारी मासु प्रतिकेजी रू। १५०० भन्दा माथि पुग्न सक्नेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सरकारले भारतबाट आयात हुने खसीबोकाको आयातमा कडाइ गरिरहेको छ । चौपाया खरीद विक्री संघका अनुसार दशैं तिहारको समयमा उपत्यकामा मात्रै करीब ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन ।

सरकारी कडाइले गर्दा दशैंमा भारतबाट लुकिछिपी खसीबोका ल्याइने र मासुको मूल्य बढ्ने सम्भावना रहेको संघका संरक्षक दीपक थापाले बताए । उनका अनुसार हाल व्यवसायीहरूले भारतबाट लुकिछिपी खसीबोका ल्याएर नेपालका भन्दै बेचिरहेका छन् ।

यसले गर्दा दशैंमा जिउँदो खसीको मूल्य प्रतिकिलो रू। ८०० र तयारी मासु प्रतिकेजी रू। १५०० भन्दा माथिसम्म पुग्न सक्ने थापाले बताए । हाल उपत्यकामा जिउँदो खसीको मासु प्रतिकेजी रू। ६०० र तयारी मासु प्रतिकेजी रू। १३०० छ ।

खसीबोका व्यवसायी रामबहादुर कार्की आयातमा कडाइ गरिएकाले नेपाली कृषकलाई फाइदा हुने बताउँछन् । उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नकै लागि सरकारले खसीबोका आयातमा कडाइ गरेको हो ।’

Loading...
प्रकाशित मिति १६ भाद्र २०७६, सोमबार ०२:५२