७४ लाखको बाइक किन्ने शौरभ ज्योती

काठमाडौं – ज्योती ग्रुपका निर्देशक तथा युवा व्यवसायी शौरभ ज्योतीले ७४ लाखको मोटरसाइकल खरिद गरेका छन्। नाडा अटो शोमा राखिएको सबैभन्दा महँगो मोटरसाईकल उनले किनेका हुन्। यसको जानकारी उनले आफ्नो फेसबुकमार्फत दिएका छन्।

एमभी अगस्टाको नेपालस्थित आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले ‘नाडा अटो शो २०१९’मा प्रदर्शनका लागि राखेको ब्रुटाले ८०० आर–आर एलएच ४४ मोटरसाइकल शौरभले बुक गरेका हुन्। ७३ लाख ९० हजार मुल्यको यो मोटरसाइकल खरिद गर्नका लागि उनले २० प्रतिशत रकम कम्पनीलाई एडभान्स दिएको बताइएको छ।

यो मोटरसाईकल संसारभर १ सय ४४ युनिटमात्र उत्पादन गरिएको छ भने दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो। त्यहि १ युनिट मोटरसाइकल नै नाडा अटो शोमा राखिएको थियो।फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसँगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ। अन्य मोडलको तुलनामा प्राविधिक रुपान्तरणसहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा कुद्न सक्ने क्षमता छ

यसमा उपलब्ध ब्रेक, क्लच लिभर, फ्लुड रिजर्भर क्याप, लाइटवेट अलोय बिलेट कार्बन फाइबरबाट बनेको कम्पनीले जनाएको छ। यसै कम्पनीका ५२ लाखदेखि ६० लाखसम्म मूल्य पर्ने २२ वटा बाइक नेपालको सडकमा गुडिरहेको कम्पनीले जनाएको छ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ११:३७