मन्त्री भट्टराईको भाईरल भिडियोबारे रेखा थापा यसो भन्छिन्

काठमाडौं / जब सत्तारुढ दलका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने तब उनलाई बधाई दिने बढि र आलोचना गर्ने कम थिए । युवा नेता मन्त्री भएकै कारण अधिकांश जनताले उनीबाट राम्रो कामको आसा र भरोसा गरेका छन् । तर उनै मन्त्री भट्टराई यतिबेला बिवादमा परेका छन् । सामाजिक सञ्जालमा भाईरल बनिरहेको भिडियोबारेमा उनले स्पष्टीकरण दिईसकेका छन् । कैलाली जिल्लाको टिकापुरमा आयोजना गरिएको डल्फीन महोत्सवमा भाग लिई फर्कने क्रममा उनले एक घण्टा जहाज कुराएको भन्दै विमान भित्र केही यात्रुहरु मन्त्री भट्टराईमाथि आक्रमक बनेका थिए ।

उनीहरुले मन्त्रीलाई हप्कीदप्की नै लगाए । तर मन्त्री भट्टराईले भने जहाज १५ मिनेटमात्र ढिला भएको स्पष्टीकरण दिएका छन् । उनले जहाजको अन्तिम उडान भएको र भोली पल्ट प्रतिनिधि सभा बैठकमा आउँनै पर्ने भएकाले बुद्ध एयरसंगै अनुरोध गरेरै १५ मिनेट कुराएको बताएका छन् । यता उनीमाथि विमानभित्रै अभद्र व्यवहार भएपछि कतिले यसलाई आलोचना पनि गरेका छन् भने कतिले बिदेशको उदाहरण देखाउँदै मन्त्री भट्टराईले राजीनामै दिनु पर्ने सम्म प्रतिक्रिया दिईरहेका छन् ।

यसबीच चर्चित एवं लोकप्रिय नायिका रेखा थापाले पनि यस घटनालाई इंगित गर्दै बिरोधको शैली गलत भएको उल्लेख गरेकीछिन् । रेखाले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकीछिन्

“यो के पाराको बिरोध हो ? बुझिएन । कि क्रान्ती गरे हुने की बिधि भित्र सभ्य व्यवहार देखाए हुन्थ्यो । चर्चा पाउँन , ध्यान तान्न , नेता बन्न त्यती लफडा काफी हुँदैन । कुरा देश चलाउँने गरिरहँदा विश्वशनियताका थुप्रै सिद्धान्त र आचरण पनि हुनुपर्छ होला । अराजकता ठूलो नियतको भयो भने राजनीति हुन्छ , छुद्र भो भने आफनै औकत देखाउँछ”

Loading...
प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार १०:५९