सोलो रिलिजमा ‘कबडी कबडी कबडी’

काठमाडौं /सिङ्गल रिलिजको अवसर पाउनु नेपाली चलचित्रको लागी निकै ठुलो मानिन्छ । दर्शक नबाँडिने कारण पनि सबै चलचित्र निर्माता सिङ्गल रिलिजको अवसरको खोजीमा हुन्छन् तर सबैले त्यस्तो अवसर पाउने कुरै भएन किनकि नेपालमा वर्षमा औसत १०० चलचित्र बन्छन् जसको लागी हप्तामा दुई वा बढी चलचित्र प्रदर्शनमा आउनु पर्ने आकलन गरिन्छ । तर कुनै चलचित्रलाई भने त्यो मौका जुर्ने गर्छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । यस चलचित्रले सिङ्गल रिलिजको अवसर पाएको छ ।  चलचित्रको बिहीबार आयोजित प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

चलचित्रले देशभरका सिंगल तथा मल्टिपेलेक्स पर्दामा आफ्नो बलियो उपस्थिति जनाएको छ । चलचित्रलाई देशकै ठुलो मल्टीप्लेक्स च्यानल क्युएफएक्सले मात्रै आफ्ना ९ स्टेसनमा ६४ सोज दिएको छ ।

जसमा राजधानीका ५ स्टेसनमा ३७ सोज छन् । राजधानीमा क्युएफएक्सले नेपाली चलचित्रलाई दिएको यो सोज सङ्ख्या अत्यधिक हो । यसअघि ‘छक्का पन्जा ३’ले ३१ सो पाएको थियो ।

मङ्गलवार नै अग्रिम बुकिङ खोलेको चलचित्रले क्युएफएक्समा सर्वाधिक सोज पाएको छ भने  बिहीबार बेलुकासम्म मल्टीप्लेक्सका सिट ६० देखि ८० प्रतिशतको बिचमा भरिएका छन् ।

एडभान्स बुकिङमा निकै रामो भएकाले पहिलो दिन डेढ करोड माथि ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

जेठदेखि सुस्ताएको चलचित्रको व्यापारलाई माथि उठाउने आशा गरिएको छ । स्वजातिय र अन्तरजातीय प्रेमकथामा आधारित फिल्म पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा: सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको पनि अभिनय छ । सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो ।

निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।

Loading...
प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ०६:४६