संसारकै अग्लो भवनमा नेपाली झण्डा फहरायो

यूएई / झमक्क साँझ परिसकेको थियो । गगनचुम्बी भवनहरुमा बलेका बत्तीहरुले दुबई त्यसै उज्यालिएको थियो । संसारभरका नागरिकहरुको जमघट हुने थलो भएर पनि होला मान्छेहरुको चहलपल उत्तिकै बाक्लो थियो ।

दुबईको ‘रेडलाइन’ मा चल्ने मेट्रोमा बर दुबई तथा जबिलआलीबाट टनाटन नेपाली आइरहेका थिए । मेट्रोभित्र नेपाली भाषा बोलेको सुन्दा नेपालकै कुनै जमघटमा पुगेको महसुस हुँदै थियो । सबैले नेपाल र नेपाली गौरव तथा पुर्खाको बयान गरिरहेका थिए ।

मेट्रोमा आएको नेपालीको भिड तितरवितर हुँदै आ–आफ्ना तरिकाले संसारको अग्लो भवन बुर्ज खालिफाको आँगनमा पुगे । बुर्ज खालिफाको चारै दिशाका आँगनमा नेपाली नागरिकको बाक्लो उपस्थिति थियो ।

त्यसो त त्यो भिडमा विदेशी नागरिक झन धेरै देखिन्थे । सबै आ–आफ्नो सुरमा । शुक्रबार खाडीमा सार्वजनिक बिदाको दिन हुने भएकाले यहाँ कार्यरत धेरै नेपाली दिनभर बर दुबई तथा आसपासमा जमघट गरी कोठा फर्किन हतारै भए पनि बुर्ज खालिफाको आँगन टेकेका थिए । बुर्ज खालिफाको काखैमा टाँस्सिएको दुबई मल, आडैमा छेकेर ल्याएको सामुन्द्रिक तट, पारीपट्टिको शुक अल बहार (पुरात्वात्विक बजार क्षेत्र)मा कार्यरत नेपाली सबैका आँखा बुर्ज खलिफामा केन्द्रित थिए ।

नेपालीहरु त्यसरी बुर्ज खालिफाको आगनमा पुग्नुको एउटै कारण थियो  ‘संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा’ फहराउँदै थियो । यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० (१० बजेर ५५ मिनेट नेपाली समय) मा एक मिनेट चहकिलो सेतो पर्दा बाहिर चन्द्र सूर्य अंकित नेपालको झण्डा चम्कियो ।

आँगनमा भेला भएका नेपालीको ‘हुटिङ’ र उल्लासले त्यहाँको माहोल ऐतिहासिक बनायो । ‘नेपाल नेपाल’ गुञ्जियो । ताली बज्यो । हो…को हल्ला चारैतिर फैलियो । नेपालीका साथै विदेशीले पनि नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसमा खुशीयाली मनाए ।

कसरी सम्भव भयो ?

यसरी संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा झलमलाउने प्रयास नेपाली दूतावास आबुधाबीले गरेको थियो । आफू राजदुतको रुपमा आएलगत्तै नेपाली पत्रकारसँगको छलफलका क्रममा राजदूत कृष्णप्रसाद ढकालले आफूले सकेको प्रयास गरेर बुर्ज खालिफामा नेपाली झण्डा फहराउने बताउनु भएको थियो ।

ढकाल राजदूत भएर यूएई आएको एक वर्ष नहुँदै दूतावासको प्रयासमा यस् पटक झण्डा फहराउन सकेकोले त्यहीँबाट दूतावासको धेरैले प्रशंसा गरे ।

Loading...
प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार ०७:१३